शीतल निवासमा कडा सुरक्षा, साम्पाङ–घिसिङको नाममा युवाहरूको आन्दोलन

काठमाडौँ । अन्तरिम सरकार प्रमुख नियुक्तिको मागसहित शुक्रबार बिहान युवाहरूले राष्ट्रपति भवन शीतल निवास अगाडि नाराबाजी गरेका छन्। आन्दोलनकारीहरूले हर्क साम्पाङ र कुलमान घिसिङलाई अन्तरिम सरकार प्रमुख बनाउनुपर्ने जोरदार माग गरेका हुन्।
यसअघि शुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव आएको भए पनि ती युवाहरू निरन्तर विरोधमा रहेको देखिएको छ। आन्दोलनमा सहभागी ‘जेन जी’ समूहका युवाहरूले साम्पाङ र घिसिङको नाममा सशक्त नारा लगाएपछि सुरक्षाकर्मीहरू उच्च सतर्कतामा खटिएका थिए।
सडकमा बाक्लो संख्यामा खटिएका नेपाली सेनाले हतियारसहित सुरक्षा व्यवस्था कडाइ गरेको देखिएको छ। चर्को नाराबाजीबीच सुरक्षाकर्मीहरूले राष्ट्रपति भवन वरपरको क्षेत्रमा निगरानी बढाएका छन्।
शीतल निवास अगाडिको सडकमा नेपाली सेनाले सुरक्षा घेरा बनाएर तयारी अवस्थामा बसेको तस्वीरहरू सार्वजनिक भएका छन्। आन्दोलन तीव्र बन्दै गएपछि सुरक्षाप्रहरीसँगै सेना पनि सक्रिय रूपमा परिचालन गरिएको हो।