कर्फ्यु तोड्दै जेनजी युवा सडकमा, संसद भवन अगाडि हजारौंको भेला

तु खबर संवाददाता
२०८२ भाद्र २४, मंगलवार ०९:५८

काठमाडौं । सरकारले लगाएको अनिश्चितकालीन कर्फ्यु आदेश अवज्ञा गर्दै जेनजी पुस्ताका युवाहरु आज बिहानैदेखि काठमाडौंमा सडकमा उत्रिएका छन् । सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागी १९ जनाको ज्यान गएपछि आक्रोशित साथी तथा आफन्तहरुले आज बिहानैदेखि संसद भवन अगाडि भेला भई सरकारविरुद्ध विरोध सुरु गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले बिहान साढे आठ बजेदेखि चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिसके पनि युवाहरु त्यसको पर्वाह नगरी सडकमा उत्रिएका छन् । संसद भवन अगाडि अहिले हजारौं युवाहरु नाराबाजीसहित शान्तिपूर्ण तरिकाले विरोध गरिरहेका छन् ।

कलंकी क्षेत्रमा जेनजी युवाहरुले टायर बालेर आन्दोलनको सुरुवात गरिसकेका छन् । उनीहरुले आन्दोलन अहिंसात्मक तर निरन्तर रहने चेतावनी दिएका छन् ।

यसैबीच संसद भवन परिसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थितिसहित तारबार व्यवस्थापन गर्ने कार्य भइरहेको छ । सोमबार केही युवाहरु संसद भवनभित्र प्रवेश गरी तोडफोड गरेपछि आज सेना हतियारसहित भवनभित्रै सतर्क अवस्थामा राखिएको छ ।

जेनजीहरुले आज देशव्यापी विरोध गर्ने चेतावनी दिँदै सडकबाट सरकारलाई जवाफ दिने घोषणा गरेका छन् ।