जेनजी प्रदर्शन : गोली लागेर १८ जनाको मृत्यु

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर हालसम्म १८ जनाको मृत्यु भएको छ। उनीहरू नयाँ बानेश्वरमा भएको प्रदर्शनपछि विभिन्न अस्पतालमा उपचाररत अवस्थामा निधन भएका हुन्।
प्रदर्शन नियन्त्रणका लागि खटिएका नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीका ९ जना घाइते भएका छन्।
ट्रमा सेन्टरमा मात्र सात जनाको मृत्यु भएको छ। तीमध्ये चार जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ का २५ वर्षीय पवन शाही, बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीया सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ का ४१ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन्।
श्रेष्ठ र चौलागाईंको टाउकोमा गोली लागेको थियो भने शाहीको पेटमा चोट लागेको बताइएको छ।
त्यसैगरी सिभिल अस्पतालमा तीन, त्रिवि शिक्षण अस्पतालमा एक र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको छ।
यससँगै प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी छ।