जेन जि को स्वतःस्फूर्त र्‍यालीलाई मेरो भरपुर साथ छ : बालेन शाह

तु खबर संवाददाता
२०८२ भाद्र २२, आईतवार १८:२०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सोमबार राजधानीमा हुन लागेको भ्रष्टाचारविरुद्धको स्वतःस्फूर्त र्‍यालीलाई समर्थन गरेका छन् । कुनै पनि राजनीतिक दल, नेता वा अभियन्ताको संलग्नता बिना नै युवापुस्ताले आयोजना गरेको भनिएको यस प्रदर्शनलाई उनले “जेन जि पुस्ताको आवाज” भनेका छन्।

शाहले फेसबुकमा स्टाटस लेख्दै आफू उमेर हदबन्दीका कारण प्रत्यक्ष सहभागी हुन नमिल्ने भए पनि युवाको सोच र चाहनालाई बुझ्ने चाहना व्यक्त गरेका छन् । उनले भने, “भोलिको र्‍याली स्पष्ट स्वतःस्फूर्तरूपमा जेन जि को हो, उहाँहरू २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुढो देखिन्छु।”

युवापुस्ताले देख्न चाहेको देशबारे प्रश्न उठाउँदै शाहले कुनै पनि पार्टी, सांसद वा कार्यकर्ताले आफ्नो स्वार्थका लागि र्‍यालीलाई प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले लेखेका छन्, “भोलि यो स्वतःस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला। म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ।”

अन्त्यमा मेयर शाहले जेन जि पुस्तासँग प्रत्यक्ष संवाद गर्ने इच्छा व्यक्त गर्दै प्रश्न गरेका छन्, “प्रिय जेन जि, भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?”