छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित सडकमा पहेलो पुलबाट जम्बुडाँडा तर्फ जाँदै गरेको बा.५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौं चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरा देवी दानीको शनिबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको जोरपाटीस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी, सुनसरी, गढी गाउँपालिका-४ छिटाहास्थित सडकमा छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको साइकल शुक्रबार बेलुकी दुर्घटना हुँदा साइकलयात्री बर्जु गाउँपालिका-६ बस्ने ७० वर्षीय कलकतिया चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङ, बुढीगंगा गाउँपालिका-४ पशुपति टोलस्थित सडकमा प्र.१-०२-००२ च ४६६५ नम्बरको पिकअपको ठक्करबाट सोही ठाउँ बस्ने शिवहरी पौडेलको छोरा ५ वर्षीय शम्भु पौडेलको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी, चितवन, रत्ननगर नगरपालिका-१ सौराहास्थित सडकमा भरतपुरबाट खैरहनीतर्फ जाँदै गरेको ना.३ ख ५७३७ नम्बरको बसको ठककरबाट पैदलयात्री खैरहनी नगरपालिका-८ बस्ने सिर्जना विककी छोरी ३ वर्षीया समिरा विकको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले बर्दिया, गुलरिया नगरपालिका-३ बुढीखोलास्थित सडकमा गुलरीयाबाट खैरापुरतर्फ जाँदै गरेको भे.११ प ३८६३ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ गुलरीयागाउँ बस्ने २१ वर्षीय करण गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।