रुपन्देही–३ उपनिर्वाचन : रास्वपा उम्मेदवार डा. लेखजङ थापाले दीए पारिवारिक जीवनबारे स्पष्टिकरण

रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजङ थापाले पहिलो विवाहबारे उठेका प्रश्नलाई सम्बोधन गर्दै आधिकारिक रूपमा स्पष्टिकरण दिएका छन्। उनले पहिलो पत्नीसँग सम्बन्धविच्छेद भइसकेको कागजात सार्वजनिक गर्दै आफ्नो पारिवारिक जीवन कानुनी र पारदर्शी रहेको बताएका छन्।
थापाले सामाजिक सञ्जालमार्फत लामो स्ट्याटस लेख्दै आलोचकहरूलाई जवाफ दिएका छन्। उनका अनुसार जीवनमा परिस्थितिजन्य कारणले दुईपटक विवाह भए पनि पहिलो श्रीमतीसँगको सम्बन्ध कानुनी रूपमा टुटिसकेको छ र त्यसबाट जन्मिएको सन्तानप्रति आफू जिम्मेवार बाबु भएको स्पष्ट पारेका छन्।
उनले भने, “मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। यो आक्रमण ममाथि होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको सुनियोजित प्रयास हो। परिस्थितिका कारण मैले दुई पटक बिहे गरेको कुरा सत्य हो, तर त्यति नै सत्य मेरो सम्बन्धविच्छेद पनि हो।”
न्युरोचिकित्सकका रूपमा १४ वर्ष पेशागत यात्रा गरेका थापाले आफू राजनीति देशको रूपान्तरणकारी परिवर्तनका लागि प्रवेश गरेको बताएका छन्। उनका अनुसार सम्बन्ध टुटे पनि बच्चाको भविष्य सुरक्षित गर्न साझा अभिभावकत्व दिने पक्षमा आफू सधैं अडिग रहेको स्पष्ट पारे।
रुपन्देही–३ का सिद्धार्थनगर–९ अञ्चलपुर निवासी थापा यसअघि २०७९ सालको आमनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)को समानुपातिक सांसदको सूचीमा थिए। रास्वपाले गत शुक्रबार र शनिबार गरेको प्राथमिक निर्वाचन प्रक्रियाबाट थापा उम्मेदवार बनेका हुन्।
थापाले आफूलाई व्यक्ति होइन, पार्टीलाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै भनेका छन्, “म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। पार्टीले गर्ने जुनसुकै निर्णयलाई सहर्ष स्वीकार र पालना गर्नेछु।”
रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. थापाको व्यक्तिगत जीवनमाथि प्रश्न उठे पनि उनले पारिवारिक तथा राजनीतिक यात्रामा पारदर्शिता कायम गर्ने प्रतिवद्धता दोहोर्याएका छन्।