एससीओ शिखर सम्मेलन मोदी–जिनपिङ–पुटिन एकै मञ्चमा

तु खबर संवाददाता
२०८२ भाद्र १६, सोमबार १२:३३

काठमाडौं । शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको अवसरमा चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकै मञ्चमा देखिएका छन् । उनीहरूको सामूहिक उपस्थितिलाई क्षेत्रीय शक्ति सन्तुलन र त्रिपक्षीय सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।

समिटको फोटो सत्रमा तीनै नेताहरूको उपस्थिति अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विशेष चासोको विषय बनेको छ । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत साझेदारीका क्षणहरू सार्वजनिक गरेका छन्, जसमा पुटिनसँगको आत्मीयतापूर्ण भेटघाट र जिनपिङसँगको छोटो संवाद देखिन्छ ।

यसअघि मोदी र जिनपिङबीच व्यापार, सुरक्षासम्बन्धी चुनौती र आतंकवादका मुद्दामा विस्तृत छलफल भएको थियो । अब भने मोदी र पुटिनबीच द्विपक्षीय वार्ता तय भएको छ, जसलाई भारत, चीन र रुसबीचको रणनीतिक संवादलाई अघि बढाउने संकेतका रूपमा लिइएको छ ।

समिटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहेको छ, जसले दक्षिण एसियाली सन्दर्भमा नेपाललाई क्षेत्रीय मञ्चमा थप सक्रिय बनाएको टिप्पणी गरिन्छ ।