कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाइ पठाउने

काठमाडौँ — नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ। हाल संसदीय सुनुवाइ समितिकी सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्यव्यवस्था समितिको नेतृत्वमा पठाउन लागिएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको हो। बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक तथा प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी थिए। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो १ बजेदेखि मनोनयन कार्यक्रम तोकिएको छ।
यसअघि समितिका सभापति रहेका रामहरि खतिवडाले राजीनामा दिएपछि पद रिक्त भएको थियो। निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियडसम्बन्धी विवादबारे जीवन परियार नेतृत्वको छानबिन समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठहर्याएको थियो। त्यसलगत्तै खतिवडाले पद त्यागेका थिए।