आज कुशे औँसी,गोकर्णेश्वरमा भक्तजनको घुइँचो

तु खबर संवाददाता
२०८२ भाद्र ७, शनिबार ०९:०६

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज भाद्रकृष्ण औँसीका दिन विशेष श्रद्धा एवं भक्तिसाथ कुशे औँसी पर्व मनाउँदै छन्। आजको दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याइन्छ।

बिहानैदेखि भक्तजनहरू काठमाडौँको  गोकर्णेश्वर उत्तरगया पितृ तीर्थधाममा पुगेका छन्। दिवङ्गत पितालाई सम्झी तर्पण, सिदादान र पिण्ड अर्पण गर्ने धार्मिक परम्परा अनुरूप तीर्थस्थलमा घुइँचो लागेको हो।

‘पितृदेवो भवः’ अर्थात् बाबुलाई देवता समान मान्ने भावनासहित कुशे औँसीलाई बाबुको मुख हेर्ने दिन का रूपमा देशभर मनाइन्छ। बाबु जीवित भएकाहरूले आजको दिन आदरपूर्वक मिठा भोजन र राम्रो लुगाद्वारा सम्मान गर्ने परम्परा छ भने बाबु गुमाएकाहरूले धार्मिक स्थलमा गई तर्पण, सिदादान र श्राद्ध गर्ने चलन रहेको छ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा भित्र्याउँदा परिवारको कल्याण हुने विश्वास छ। आज उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने भए पनि अरू दिन उखेलिएको कुश भने त्यही दिन मात्र उपयोग गर्न मिल्ने धार्मिक मान्यता छ।