भारतको जम्मु–कश्मीर बाढीमा ४६ तीर्थयात्रीको मृत्यु, सयौं घाइते

कश्मीरको किश्तवाड जिल्लास्थित माछेल माता तीर्थ मार्गमा बिहीबार दिउँसो आएको भीषण बाढीले कम्तीमा ४६ जनाको ज्यान लिएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। चोसीटी (चसोती) गाउँमा बादल फुटेर आएको बाढीमा परेर कैयौं तीर्थयात्री बेपत्ता छन्।
अधिकारीहरूका अनुसार हालसम्म १६० जनाभन्दा बढीको उद्धार गरिएको छ र मृतकको संख्या अझै बढ्ने आशंका छ। मृत्यु हुने अधिकांश व्यक्ति माछेल माता मन्दिरतर्फ वार्षिक पदयात्रामा सहभागी तीर्थयात्रीहरू हुन्।
घटनास्थल ९,५०० फिट उचाइमा रहेको माछेल माता मन्दिर जाने मार्गको अन्तिम मोटरेबल बिन्दु हो, जहाँबाट ८.५ किलोमिटरको पैदल यात्रा सुरु हुन्छ। त्यही क्षेत्रमा रहेको सामुदायिक भान्सा (लङ्गर) पनि बाढीको चपेटामा परेको थियो।
उद्धार कार्यमा सेना, प्रहरी, एनडीआरएफ र एसडीआरएफ खटिएका छन्। हालसम्म ६५ जनालाई सकुशल उद्धार गरिएको छ। केन्द्रीय औद्योगिक सुरक्षा बल का एक अधिकारीको शव फेला परेको छ भने अन्य तीन जना बेपत्ता छन्।
घटनापछि केन्द्रीय मन्त्री जितेन्द्र सिंह, मुख्यमन्त्री ओमर अब्दुल्ला र जम्मु–कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले शोक व्यक्त गर्दै उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। अधिकारीहरूले प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य, राहत र आवासीय सहयोगको व्यवस्था भइरहेको बताएका छन्।