२३०० मिटर उचाइ गोसाइँकुण्ड जाने मार्गमा नेपाल टेलिकमको टुजी सेवा सुरु

तु खबर संवाददाता
२०८२ श्रावण २३, शुक्रबार १९:२५

काठमाडौं – नेपाल टेलिकमले दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित चन्दनबारीमा टुजी बीटीएस सेवा सञ्चालनमा ल्याएको छ।

समुद्री सतहबाट करिब २ हजार ३०० मिटर उचाइमा रहेको चन्दनबारी धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थान हो। गोसाइँकुण्ड जाने तिर्थालु र पदयात्रीलाई लक्षित गर्दै टेलिकमले धुन्चेदेखि गोसाइँकुण्डसम्मको पदमार्गमा पर्ने यस क्षेत्रलाई नेटवर्कसँग जोडेको हो।

यो सेवासँगै धुन्चे, देउराली, चन्दनबारी, लौरीविनायक हुँदै ४ हजार २०० मिटर उचाइको गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्क पुग्ने भएको छ।

प्रत्येक वर्ष जनैपूर्णिमामा गोसाइँकुण्डमा हजारौं भक्तजन पुग्ने भएकाले यो सेवा सुरु भएपछि तीर्थालु, पर्यटक र स्थानीयलाई सञ्चारमा थप सहजता हुने टेलिकमको विश्वास छ।