राष्ट्रिय बीमा कम्पनीले मनायो १२ औं बार्षिकोत्सव

तु खबर संवाददाता
२०८२ श्रावण १९, सोमबार ०९:३४

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चरम भ्रष्टाचार र बेथितीको चाङमाथि १२ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । स्थापनादेखि नै चरम भ्रष्टाचार, बेथितीमा बीचमा गुज्रिरहेको कम्पनीले हिजो बार्षिकोत्सव मनाएको हो ।

सार्वजनिक कम्पनीभित्र हुने भ्रष्टाचारको नमुनाको रूपमा राष्ट्रिय बीमा कम्पनीले वित्तीय विवरणको कैफियतमा देखाइएको बेरुजु र भ्रष्टाचारलाई थप उदाङ्ग बनाउँदै बार्षिकोत्सव मनाइएको छ । लाखौं रुपैयाँ खर्च गरेर मनाइएको बार्षिकोत्सवमा कुनै मन्त्री वा अन्य विशिष्ट अतिथिहरु थिएनन् ।

कम्पनीको आव २०७५।०७६ र आव २०७६।०७७ को वार्षिक वित्तीय विवरणमा करोडौं रुपैयाँ घोटाला भएको प्रतिवेदन बार्षिक साधारणसभाबाट पारित गरेर भ्रष्टाचारलाई वैधानिकता दिने संस्थाको रुपमा आरबिसिएल पर्दछ ।
कम्पनीभित्रको घटनाको निष्पक्ष छानबिन भएमा तत्कालीन सिईओ, अध्यक्ष, सञ्चालक तथा उच्च तहका कर्मचारी जेल जाने सम्भावना छ । सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेको भए पनि हालसम्म विस्तृत छानबिन हुन सकेको छैन ।

उक्त दुई आर्थिक वर्षमा मात्रै राष्ट्रिय बीमा कम्पनीभित्र पौने अर्ब रुपैयाँ घोटाला गरिएको तथ्य लेखापरीक्षण प्रतिवेदनमै उल्लेख छ । हिसाबकिताब नराखेको, खर्च गरेको रकमको आधिकारिता पुष्टी हुन नसकेको, बीमाशुल्क हिनामिना गरेको जस्ता विषयमा लेखापरीक्षण प्रतिवेदनमा कैफियत जनाउँदा समेत नियामक नेपाल बीमा प्राधिकरणले सुक्ष्म विश्लेषण तथा छानबिन गर्न सकेको छैन ।