काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान गरे ५ सय, अवैध पार्किङ गरे ५ हजारसम्म जरिवाना
काठमाडौं । अब काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलमा धुम्रपान गर्दा प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना लाग्ने भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक विधेयकमार्फत महानगरपालिकाले यो व्यवस्था गरेको हो।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थलमा अत्यधिक धुम्रपान भइरहेको र यसबारे जनगुनासो बढेको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको हो।
सार्वजनिक स्थलमा धुम्रपानबाहेक सवारी पार्किङसम्बन्धी उल्लङ्घनमा पनि विभिन्न जरिवाना तोकिएको छ। पाण्डेका अनुसार तोकिएको स्थानबाहेक पार्किङ गरेमा दुईपाङ्ग्रे सवारी साधन—मोटरसाइकल, स्कुटर लगायतलाई एक हजार रुपैयाँ जरिवाना गरिनेछ।
त्यस्तै, चारपाङ्ग्रे सवारीसाधन—कार, जीप, डेलिभरी भ्यानलाई २५०० रुपैयाँ, मझौला सवारी साधन—मिनीबस, मिनीट्रकलाई ३५०० रुपैयाँ र ठूला सवारीसाधन—बस तथा ट्रकलाई पाँच हजार रुपैयाँसम्म जरिवाना गरिनेछ।
महानगरले विज्ञापनसम्बन्धी कानुन उल्लङ्घनमा समेत कडा कारबाही गर्ने नीति लिएको छ। प्रचलित कानूनविपरीत विज्ञापन गरेमा १० हजार रुपैयाँ जरिवाना गरिनेछ। त्यस्तै, बिना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर टाँस गर्ने वा प्रचार सामग्री वितरण गरेर फोहोर गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ। खम्बा वा पर्खालमा गरिएको पेन्टिङ तथा लेखन कार्यमा समेत समान जरिवाना लाग्नेछ।
यस्तै, स्वीकृति नलिई बेलुन वा यस्तै अन्य माध्यमबाट विज्ञापन गरेमा पनि ५ हजारदेखि ५० हजारसम्म जरिवाना गरिनेछ।



