एक वर्षमै २१ लाखभन्दा बढी स्मार्टफोन भित्रिए

तु खबर संवाददाता
२०८२ श्रावण ६, मंगलवार १४:१४
file photo

काठमाडौं । नेपालमा स्मार्टफोनको आयात तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपालले २१ लाखभन्दा बढी स्मार्टफोन आयात गरेको छ।

विभागको तथ्यांकले देखाउँछ कि गत आर्थिक वर्षमा कुल २१ लाख ८४ हजार ६९४ वटा स्मार्टफोन नेपाल भित्रिएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। आर्थिक वर्ष २०८०/८१ मा यही अवधिमा १८ लाख ३९ हजार ३५ पिस स्मार्टफोन आयात भएका थिए।

स्मार्टफोन आयातमा खर्च भएको रकम पनि उच्च देखिएको छ। विभागका अनुसार  आर्थिक वर्ष २०८१/८२ मा ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरको स्मार्टफोन नेपाल भित्रिएको छ।

नेपालले आयात गर्ने स्मार्टफोनमध्ये सबैभन्दा ठूलो हिस्सा चीनबाट आउने गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, कुल आयातमध्ये १७ लाखभन्दा बढी स्मार्टफोन चीनबाट ल्याइएको हो। बाँकी स्मार्टफोन भारत, जापान, क्यानडा, मलेसिया, बहराइन, अष्ट्रेलिया, बंगलादेश, डेनमार्क, कुवेतलगायतका देशहरुबाट नेपाल आइपुगेका छन्।