मौद्रिक नीति बजारलाई चलायमान बनाउने किसिमको छ :
तारा प्रसाद फुल्लेल, शेयर लगानी कर्ता संघका का.बा.अध्यक्ष हुन् । लामो समय शेयर बजारमा नेतृत्वदायी भूमिकामा रहेका उनीसँग नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीति, यसले शेयर बजारमा पार्ने सकारात्मक वा नकारात्मक असरलगायतका विषयमा हामीले छोटो कुराकानी गरेका छौँ प्रस्तुत् छ – फुल्लेल संगको कुराकानी :
प्रश्न : पछिल्लो मौद्रिक नीति सम्बन्धमा तपाईको धारणा के छ ?
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको २०८२/८३ को मौद्रिक नीति आम लगानीकर्ताहरूको अपेक्षाकृत, स्वागतयोग्य र सकारात्मक छ । यो नीति शेयर बजारप्रति नरम र लगानीकर्तामैत्री छ । समग्र अर्थव्यवस्था चलायमान हुनेगरी आएको छ । सर्वपक्षिय सरोकारवालाहरूले यो मौद्रिक नीतिलाई सकारात्मकरूपमा स्वागत गरेको पाईयो ।
प्रश्न : मौद्रिक नीति शेयर बजारप्रति कसरी नरम र लगानीमैत्री पाउनु भयो ?
हेर्नुहोस्, मौद्रिक नीतिले नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा ल्याइएकाले बजारमा तरलता वृद्धि हुने संकेत मिलेको छ। यसले बैंक तथा वित्तीय संस्थाहरूलाई सस्तो ब्याज दरमा कर्जा प्रवाह गर्ने सम्भावना बढाउँछ, जसको प्रत्यक्ष लाभ शेयर बजारमा देखिन सक्छ। लगानीकर्ताले कम ब्याजदरमा कर्जा लिन सक्ने हुँदा शेयर खरिदमा उनीहरूको पहुँच बढ्नेछ। साथै, स्थायी तरलता दर र निक्षेप संकलन दर पनि घटाइएको छ, जसले बजारमा समग्र तरलतामा थप सहज बनाउनेछ, यस बाहेक पनि शेयरबजार सँग प्रत्यक्ष सम्बन्धित अर्को महत्वपूर्ण व्यवस्था भनेको शेयर धितोकर्जाको सीमा हो। यस नीति अनुसार व्यक्तिगत शेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याइएको छ। यसले ठूला तथा संस्थागत लगानीकर्तालाई थप कर्जा लिएर बजारमा सक्रिय हुन सहज बनाउनेछ। साथै, पहिलो पटक घर किन्नेलाई ३ करोड रुपैयाँसम्मको कर्जादिने र घर मूल्याङ्कनको ८० प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था गरिएको छ, जसले बैंकहरूको कर्जा प्रवाहमा वृद्धि ल्याएर सम्पूर्ण वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पार्न सक्छ, जसको परिणाम स्वरुप शेयरबजारमा दिर्घकालिन स्थायित्व आऊँछ भन्ने विश्वास गर्न सकिन्छ ।
प्रश्न : अहिलेको समयमा शेयर बजारमा लगानी गर्न प्रोत्साहित गर्ने नीतिको आवश्यकता हो कि उत्पादनमा जोड दिने मौद्रिक नीति आवश्यक हो ?
यो मौद्रिक नीतिले धेरै महत्वपूर्ण व्यवस्थाहरुलाई समेटेको छ जसले उत्पादनमुखी अर्थतन्त्रलाई टेवा दिन सक्छ । नवनियुक्त गभर्नरज्युले मौद्रिक नीतिमार्फत् नियमनलाई लचिलो बनाउने, आवश्यकता अनुसार राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने, तथा परियोजना कर्जालाई स्वनियमनमा लैजाने जस्ता प्रस्तावहरू पनि छन, जसले गर्दा नेपाल सरकारले तोकेका गौरवका आयोजनाहरुको स्रोत बढाउन आवश्यक परे लगानी गर्ने वातावरण तय गरिदिएको छ । यस्ता नीतिहरुले लगानीकर्तामा विश्वास बढाउने छ । सहजकर्जा प्रवाह गर्ने नीतिले उत्पादनमूलक उद्योगहरुमा पनि आकर्षित गर्न सक्छ। नीतिमा उल्लेखित प्रावधानहरुले बजारमा दीर्घकालिन स्थायित्व र लगानी प्रवाहमा सकारात्मक सन्देश प्रवाह गर्न सक्दछ ।
प्रश्न : शेयर बजारसँग सम्बन्धित प्रावधान बाहेक मौद्रिक नीतिका अरु सकारात्मक पक्षहरू के कस्ता छन् ?
यो मौद्रिक नीति लगानीकर्ताको मनोविज्ञानलाई बलियो बनाउने किसिमको छ। गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३को मौद्रिक नीति सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्था अनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा वोनस) वितरण गर्ने सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने घोषणा गर्नुभएको छ, यो अपेक्षित सम्बोधन छ । त्यस्तै वैदेशिक रोजगारीमा जाने युवाहरूलाई धितो लिई वा नलिई प्रवाह भएको ३ लाख सम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ । महिलाको हकमा यस्तो कर्जा बढीमा ५ लाख सम्म गरिने समेत व्यवस्था गरिएको छ । यो व्यवस्थाले सहज वातावरण बनाउनेछ । त्यस्तै लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तको लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यता सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने समेत व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने विपन्न वर्ग र अन्य निर्देशित कर्जाहरूको सीमा व्यवस्थाको अध्ययन गरी पुनरावलोकन गर्ने जस्ता महत्वपूर्ण व्यवस्थाका कारण यो नीति थप प्रभावकारी हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । ३ करोड रुपैयाँसम्म प्रवाह भएको कर्जामा ब्याज दर अधिकतम २ प्रतिशत मात्र हुने व्यवस्थाले सस्तो कर्जा प्रवाहलाई बढावा दिनुका साथै स्टार्टअप, युवा उद्यमी र साना व्यवसायहरूका लागि विशेष लाभदायक हुन सक्छ।
प्रश्न : शेयर बजारमा देखिएका समस्या र यस भित्र रहेका वेथिति नियन्त्रणका लागि संस्थाको का.वा. अध्यक्षको रुपमा तपाईले कसरी काम गरिरहनु भएको छ र तपाईंको सुझाव के छ ?
शेयर बजारमा लगानीगर्ने लगानीकर्ताहरूका लागी धेरै समस्याहरू तड्कारो रूपमा देखिएका छन,कतिपय नीतिगत समस्याहरू छन त कतिपय व्यवहारिक समस्याहरू छन । विशेषगरी हाम्रो संस्था शेयर लगानीकर्ता संघ नेपाल स्थापना काल देखिनै लगानीकर्ताले प्रत्यक्ष भोगिरहेका समस्याहरूका बारेमा आवाज उठाऊने र नियामक संग समस्या समाधानका लागि निरन्तर छलफल,वार्ता गर्दै आईरहेको छ । लगानीकर्ताहरूले कारोबारमा भोगिरहेका समस्या र कतिपय कानुनी जटिलतालाई सहज बनाउन आन्दोलन समेत गर्नु परेको इतिहास छ । नेपालमा डिम्याट लागु गर्ने,अनलाईन सिष्टम ल्याऊने, ब्रोकरको संख्या बढाऊने र विधमान ब्रोकरहरूको शाखा विस्तार गर्ने,कमिशन दर घटाऊने, क्यापिटल गेन ट्याक्स कम गराउने जस्ता विषयहरूमा समेत महत्वपूर्ण भुमिका खेलेको छ । कतिपय लिस्टेड कम्पनिहरूले वास्तविक विवरण समयमै सार्वजनिक नगरेका कारण लगानीकर्ता सुसुचित हुनुबाट बञ्चित हुनु पर्यो भने कुनै बेला नियामकले सिमित कम्पनिहरूका लिष्ट सार्वजनिक गरिदिएका कारण आम लगानीकर्ता प्रताडित हुनु पर्यो,यस्तै यस्तै विकृतिहरूका विरुद्ध समेत नियामकसंग समस्या समाधानको लागि एउटा पुलको रूपमा पहल गर्दै आएको छ। आगामी दिनहरूमा बजारमा रहेका बिकृति विसंगतिहरूलाई विभिन्न लगानीकर्ताका संघ-संस्थाहरूको पहलमा मात्रै समाधान गर्ने परिपाटीलाई चिरेर नियामकले लगानीकर्ताहरूलाई विश्वासिलो,भरपर्दो र पारदर्शी शेयर बजारको अनुभूति दिलाऊनु अभिभावकीय भुमिकामा रहेका नियामकहरू नैतिक एवं जिम्मेवारपूर्ण ढंगले प्रस्तुत हुनु आवश्यक देखिन्छ । यति भन्दै गर्दा कमजोरी हामी लगानीकर्तामा छैन पनि भन्न मिल्दैन, जस्तै कारोवार गर्दा कम्पनिहरूको छनोट राम्रो संग गर्दै आफुले लगानी गरेको पैसाको समेत व्यवस्थापन सुरक्षित गर्दै बजारका हल्लाको पछि नलागी सुझवुझपूर्ण लगानीको लागी समेत सुझाव दिन चाहान्छु ।



