विद्युत् क्षेत्रमा लगानी विस्तारका लागि नीजि क्षेत्रसँग सहकार्य अपरिहार्य : ऊर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को १४औँ वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री खड्काले सरकारले कम्पनी मोडेलमा गठन गरेको एचआईडीसीएलले अहिलेसम्म खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न आग्रह गरेका छन् ।
उनले २५ मेगावाट भन्दा कम क्षमताका आयोजनालाई बाईपास गर्न नहुने उल्लेख गर्दै, “साना र मझौला आयोजनाले पनि ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिएका छन्, त्यसलाई बेवास्ता गर्न सकिँदैन,” उनले भने । उनका अनुसार, नीति परिमार्जनमार्फत साना लगानी र कम मेगावाटका आयोजना समेतलाई समेट्ने कार्ययोजना बनाउनुपर्नेछ ।
मन्त्री खड्काले ठूला आयोजना र लगानीकर्तालाई आकर्षित गर्न एचआईडीसीएलले सहजीकरणको भूमिका अझ मजबुत बनाउँदै आवश्यक परे ऋण र इक्विटीका माध्यमबाट वित्तीय अभाव समाधान गर्न निर्देशन दिएका हुन् ।
जलस्रोत राष्ट्रको प्राकृतिक सम्पत्ति भएकाले यसको वैज्ञानिक र दिगो उपयोगमा सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्रीले जलविद्युत् परियोजनाहरूको समयमै सम्पन्नता, गुणस्तरीय निर्माण र लगानीमैत्री वातावरण सिर्जनामा नीतिगत सुधारलाई अघि बढाइरहेको जानकारी दिए ।



