हवाई नीतिको नयाँ मस्यौदा सार्वजनिक

तु खबर संवाददाता
२०८२ असार १६, सोमबार १७:११

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १९ वर्षपछि हवाई नीति, २०८२ ल्याउनेगरी बहसको लागि मस्यौदा सार्वजनिक गरेको छ ।

मन्त्रालयकाअनुसार हवाई नीति, २०६३ जारी भएपछि सो क्षेत्रमा देखिएका परिवर्तन, उपलब्धिले सिर्जना गरेका नयाँ अवसर र समस्याको सम्बोधन गर्नेगरी नयाँ नीति ल्याउन खोजिएको हो ।

प्रस्तावित मस्यौदामा नेपालको उड्डयन क्षेत्रमा विदेशी लगानी, भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी व्यवस्थापन, विमान खरिद लगायत धेरै विषयमा नयाँ प्रावधान उल्लेख गरिएको छ ।

नेपालमा विगतमा कहिलेकाहीँ हुने गरेका विमान दुर्घटनाको समयमा ती विमानको आयुको विषय चर्चा हुने गर्दथ्यो । मन्त्रालयले नयाँ मस्यौदामा कति पुराना जहाज नेपाल भित्र्याउन पाइने भन्ने नै स्पष्ट गरेर हवाई नीतिको प्रस्तावमा उल्लेख गरेको छ । प्रस्तावअनुसार अब १५ देखि २० वर्ष पुराना वायुयान नेपालमा आयात गर्न अनुमति नदिइने उल्लेख छ ।

‘प्रेसराइज्डको हकमा १५ वर्ष भन्दा पुरानो वा इकोनोमिक डिजाइन लाइफको ५० प्रतिशत पूरा गरेको वा ३५ हजार प्रेसराइजेशन साइकल पूरा गरेको वायुयानहरूको आयात निषेध गरिनेछ’, मस्यौदामा उल्लेख छ । त्यस्तै, मस्यौदामा नन् प्रेसराइज्ड वायुयानको हकमा २० वर्षभन्दा पुराना वायुयानलाई आयात गर्न अनुमति प्रदान नगरिने भनिएको छ ।