बारामा ट्रक दुर्घटनामा च्यापिएका चालकको ३ घण्टापछि उद्धार

तु खबर संवाददाता
२०८२ असार १६, सोमबार १३:०४

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई मन्दिर नजिकै दुई ट्रक एकआपसमा ठोक्किँदा स्टेरिङमा च्यापिएर घाइते भएका चालकको ३ घण्टापछि उद्धार गरिएको छ।

आइतबार राति एउटै दिशातर्फ जाँदै गरेका दुई ट्रक जङ्गल क्षेत्रमा आपसमा ठोक्किँदा दुर्घटना भएको हो। ठक्करपछि दुबै ट्रक सडकको बायाँतर्फ पल्टिएका थिए।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले ठक्कर दिंदा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेका चितवनको भरतपुर–१६ निवासी करिब ३५ वर्षीय अरुण श्रेष्ठ ट्रकमा च्यापिएर घाइते भएका हुन्। स्टेरिङमा च्यापिएका श्रेष्ठलाई ट्रकको झ्याल काटेर सशस्त्र प्रहरीले तीन घण्टापछि उद्धार गरेको थियो।

सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण मकवानपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमान्डको टोलीले घाइते चालकको उद्धार गरेको हो।

घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडातर्फ पठाइएको छ। अर्का ट्रक चालक भने सामान्य अवस्थामा रहेको र दुबै ट्रकमा चालकबाहेक अन्य कोही नरहेको प्रहरीले जनाएको छ।