पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतलाई २५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा टेरामक्स प्रविधि खरिदको निर्णयमा बद्नियत राखी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको थियो । सो मुद्धा दर्ता भएपछि सांसद पद निलम्बन भएका बस्नेतले अदालतमा हाजिर हुन निवेदन दिएका थिए ।
आज उनलाई थुनामा राखी मुद्धाको पुर्पक्ष गर्ने कि बाहिर राखेर भन्ने सम्बन्धमा थुनछेक बहस भएको थियो । उनको आजै बयान भएको थियो ।
यस अघि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि ३५ लाख धरौटी लिएर छोड्न अदालतको आदेश थियो । पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेपछि उनी पनि अदालतमा निवेदन लिएर हाजिर भएका थिए ।