लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

तु खबर संवाददाता
२०८२ असार १४, शनिबार १८:००

काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगल कालिमाटी टोलस्थित दर्शन नमस्ते ईन गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४३ ग्राम ६० मिलिग्राम, नगद १० हजार ८ सय रूपैयाँ, मोबाइल ३ थान र तराजु १ थान सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका-८ घर भएका ४२ वर्षीय साउन यादव, काठमाडौं सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका-१२ घर भएका ४० वर्षीय मो. अख्तर राईन र काठमाडौं जडिबुटी बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ घर भएका २४ वर्षीय देव बुढाथोकी रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले गेष्ट हाउसको कोठा नम्बर २०५ तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महागनरपालिका-३१ गोरखामार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम ४ सय ८० मिलिग्राम, मोबाइल ४ थान र नगद ८० हजार ९ सय ५० रूपैयाँ सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तनुहँ शुक्लागण्डकी नगरपालिका-५ नयाँगाउँ बस्ने ३२ वर्षीय बिजय घर्ती, पोखरा महानगरपालिका-३१ लामागाउँ बस्ने ३९ वर्षीय कृष्ण मगर, १८ वर्षीय किशोर र सोही महानगरपालिका-३१ किमबैंशी बस्ने २९ वर्षीय सुशान सारू मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ३ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो २३ ट्याब्लेट सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २७ वर्षीय विवेक धिताल र ३९ वर्षीय ख्यामराज तिमिल्सिना रहेका छन् । इलाका प्रहरी कार्यालय सुनवल समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बारा, पचरौता नगरपालिका-७ धर्मनगर गाउँबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी थाना आदापुर टोल अररा बस्ने २२ वर्षीय अनरजित कुमार सहनी र बारा कलैया उपमहानगरपालिका-२७ बर्वा बस्ने १९ वर्षीय रूपेश सहनी रहेका छन् ।

प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले बीआर ०५ बिई ९६८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
सिराहा, बरियारपट्टी गाउँपालिका-३ स्थित छोटी भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय मिलिग्राम, नगद १४ हजार ५ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-११ बस्ने २४ वर्षीय सुभाष यादव र २२ वर्षीय श्याम कुमार पासवान रहेका छन् ।

इलाका प्रहरी कार्यालय बरियारपट्टी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-४ बस्ने ४० वर्षीय दुर्गा प्रसाद श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र ०३-००१ ख ३३६१ नम्बरको हाइसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७० ट्याब्लेट सहित सोही महानगरपालिका-११ बस्ने १९ वर्षीय निखिल मल्लिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।