एमाले एकता र अर्जुनदृष्टिमा अघि बढ्छ: अध्यक्ष ओली

तु खबर संवाददाता
२०८२ असार १४, शनिबार १५:३८

शनिबार जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विशेष कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ मा अर्जुन दृष्टिका साथ अघि बढिरहेको बताउँदै पार्टीको स्पष्ट मार्गरेखामा कुनै पनि अवरोध अस्वीकार्य नहुने स्पष्ट पारेका छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीलाई अनुशासित, वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा एकताबद्ध बनाएर अगाडि बढाउने प्रतिवद्धता जनाए। उनले भने, “एमालेले कुनै हालतमा आफ्नो बाटो छाड्दैन, मिसन ०८४ मा कसैले बाधा पुर्‍याउन सक्दैन।” उनले पार्टीभित्र देखा परिरहेका केही स्वार्थी प्रवृत्तिहरूप्रति लक्षित गर्दै कार्यकर्तालाई त्यस्ता तत्वप्रति सचेत रहन र प्रोत्साहन नगर्न निर्देशनसमेत दिए।

पछिल्लो समय एमाले वृत्तमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता पनि चर्चाको केन्द्रमा रहेको सन्दर्भमा ओली र भण्डारी दुवैको उपस्थितिलाइ यस कार्यक्रममा विशेष महत्व दिइएको छ। कार्यक्रममा पार्टीका उपाध्यक्ष ईश्वर पोखरेलसहित केन्द्रीय नेताहरू, युवा संघका पदाधिकारीहरू, कार्यकर्ता तथा भण्डारीका अनुयायीहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको स्मरण गर्दै वक्ताहरूले जनताको बहुदलिय जनबादको बाटो देखाउने भण्डारीको योगदानलाई स्मरण गरेका छन।