श्रेष्ठलाई तीन दिनभित्र उपस्थित गराउन विशेष अदालतको आदेश

तु खबर संवाददाता
२०८२ असार १०, मंगलवार २०:१०

काठमाडौं । विशेष अदालतले दृष्टि न्युजका प्रकाशक एवम् अग्रज पत्रकार शम्भु श्रेष्ठलाई तीन दिनभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ । विशेष अदालतको बृहत इजलासले थाम्ने थमाउने म्याद समेत नपाउने गरी उपस्थित हुन भनेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले अदालतको अवहेलना सम्वन्धी मुद्धामा सुनुवाइ गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको हो । श्रेष्ठसहित सो मिडियाका कार्यकारी सम्पादक एमपी सुब्बालाई र समाचार लेख्ने संवाददातालाई समेत उपस्थित हुन आदेश दिएको हो ।

विशेष अदालतले सो निवेदनलाई फौजदारी विविध दायरीमा दर्ता गर्न समेत आदेश दिएको छ । अवहेलना आकर्षित हुने गरी प्रकाशित सो सामग्री जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्नू, सो सामग्री नहटाउनू, परिवर्तन/परिमार्जन इत्यादि केही पनि नगर्नु– विशेषको आदेशमा भनिएको छ ।

विशेष अदालतका ६ जना कर्मचारीहरुले दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै प्रतिवेदन पेश गरेका थिए ।