विद्युत् निर्यातबाट नेपाललाई दैनिक साढे १० करोड आम्दानी

काठमाडौं । असार शुरू भएसँगै नेपालले दैनिक साढे १० करोड रुपैयाँभन्दा बढीको विद्युत् विदेशमा निर्यात गर्न थालेको छ ।
वर्षायाम सक्रिय भई जलप्रवाह बढेपछि उत्पादनमा भएको वृद्धि अनुसार आन्तरिक खपत कटाएर बाँकी विद्युत् बङ्गलादेश, भारतका विभिन्न राज्य र इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मा निर्यात भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार असार १ गतेदेखि बङ्गलादेशमा ४० मेगावाट, भारतको विहारमा १२५ मेगावाट र हरियाणामा २०० मेगावाट विद्युत् नियमित रूपमा पठाइएको छ । साथै आईईएक्स मार्फत दैनिक बोलकबोल प्रणालीद्वारा थप परिमाणमा पनि विद्युत् बिक्री भइरहेको छ ।
गत शनिबार मात्रै नेपालबाट २४ घण्टामा १५ हजार ९१८ मेगावाट घण्टा विद्युत् निर्यात हुँदा १० करोड ७१ लाख रुपैयाँ आम्दानी भएको थियो । यो रकममा बङ्गलादेशतर्फको बिक्रीसमेत समावेश छ । प्राधिकरणले आन्तरिक खपत पूरा भएपछि बाँकी विद्युत् निर्यात गरिँदा ठूलो परिमाणमा आम्दानी हुन थालेको जानकारी दिएको छ ।
बङ्गलादेशमा प्रतियुनिट ६.४ अमेरिकी सेन्टमा विद्युत् बिक्री भइरहेको छ । विहारतर्फ निर्यातमा प्रतियुनिट ८.७२ रुपैयाँ प्राप्त भइरहेको छ भने उत्तरप्रदेशतर्फको दर पनि यस्तै छ । यद्यपि आईईएक्समा भने नेपाली विद्युत् ३ देखि ४ रुपैयाँमै बेच्नुपर्ने अवस्था देखिएको छ । हाल सबै किसिमका निर्यातको औसत प्रतियुनिट दर करिब ६.७० रुपैयाँ रहेको प्राधिकरणको तथ्याङ्क छ ।
प्राधिकरणले पाँच महिनासम्म बङ्गलादेशमा ४० मेगावाटका दरले विद्युत् निर्यात गर्दा कुल १ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।