वर्षायामसँगै डेङ्गीको जोखिम उच्च, सतर्कता जरुरी

वर्षा लागेसँगै देशभर डेङ्गी रोगको जोखिम तीव्ररूपमा बढ्दो छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार रसुवा, मनाङ, हुम्ला र डोल्पा बाहेक देशका ७३ जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।
डाक्टरहरूका अनुसार डेङ्गी एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिका लामखुट्टेबाट सर्ने गर्दछ, जुन प्रायः सफा र जमेको पानीमा फुल पार्छन्। ती फुलबाट निस्कने लार्भा करिब १५–२० दिनमा वयस्क भइ मानिसलाई टोकेमा संक्रमण फैलाउँछन्।
उच्च ज्वरो आउने, टाउको, घाँटी, आँखा दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने जस्ता लक्षणहरू देखिएमा डेङ्गीको सम्भावना हुन्छ, जसलाई समयमै चिन्नु र उपचार गर्नु अत्यावश्यक हुन्छ।
यस अवस्थालाई गम्भीरतापूर्वक लिनु आवश्यक छ किनभने सफा पानी जम्ने घर आँगन, फूलको गमला, खुला ट्यांकी, प्लास्टिकका कन्टेनरजस्ता ठाउँ नै लामखुट्टेको प्रजननस्थल बन्न सक्छ। त्यसैले आगामी दिनहरूमा अझै बढ्ने सक्ने संक्रमणको जोखिमलाई न्युनिकरण गर्न सबै नागरिक, समुदाय, विद्यालय र स्थानीय निकायले सचेतना, सफाइ र सतर्कताको साझा पहल गर्नु अपरिहार्य छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय निकायलाई ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउन पत्राचार गरिसकेको छ ।