मानव अधिकार संरक्षणमा नेपाल प्रहरी : अन्तरक्रिया कार्यक्रम

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपाली प्रहरीको अपराध अनुसन्धान कार्य प्रशंसनीय रहेको बताएका छन् । आज आइतबार राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मगरले नेपाल प्रहरीले देशको शान्ति सुरक्षाका सवालमा पनि राम्रो काम गरेको बताएका हुन् ।
यस अवसरमा अध्यक्ष मगरले प्रहरी सेवा समयसापेक्ष र पीडितमैत्री हुनुपर्ने समेत धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका कार्यबाहक अध्यक्ष हरि दत्त जोशी, मधेशी आयोगका कार्यबाहक अध्यक्ष जीवछ साह, थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारू, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी, मुस्लिम आयोगका सदस्य महोम्मद समशुल हक, आदिवासी जनजाती आयोगका सदस्य रीना राना, राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्की, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारिप्रसाद खरेल लगायतका महानुभावहरुले बोलेका थिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरी नेपालको संविधान र विभिन्न कानुनको पूर्ण पालना गरिरहेको बताए । प्रहरीले अपराध नियन्त्रणमा पहिलो पंक्तिमा रहेर काम गरिरहेको र मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको समेत बताए ।
उनले आधारभूत तालिम र विभिन्न अनुशिक्षण तालिमको पाठ्यक्रममा समावेश गरी प्रहरी कर्मचारीहरूलाई समयसापेक्ष मानव अधिकार सम्बन्धी प्रशिक्षण दिँदै आइरहेको समेत बताए ।