ढकालद्वारा इटाली संसदमा सम्बोधन

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले अन्तरसंसदीय संघद्वारा इटालीमा आयोजित दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा भविष्यका लागि विश्वास सुदृढ गर्दै र आशालाई अँगाल्दै” भन्ने मूल नारामा सम्पन्न सम्मेलनमा ढकालले मानवता सामना गरिरहेकै प्रमुख चुनौतीहरू समाधान गर्दै शान्ति र समृद्ध भविष्य निर्माण गर्न सांसद तथा धार्मिक अगुवाहरूबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।
नेपाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कार्यरत सांसद ढकालले आफ्ना विचार राख्दै विविधताभित्र सहिष्णुता, नैतिकता र आस्थाबीचको सम्मान कायम राख्न संसद र धर्मगुरुहरूको भूमिका अतुलनीय हुने उल्लेख गरे। उनले धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनमा अन्तर्राष्ट्रिय साझा पहल आवश्यक रहेको बताए।
अन्तरसंसदीय वक्ताहरूको सम्मेलन
का महासचिवको रूपमा सहभागी ढकालले सम्मेलनका अवसरमा IPU अध्यक्ष तुलिया एक्सन, महासचिव मार्टिन चुन्गोङ, साथै बहराइन, युएई, चिली, जिम्बाब्वे, इस्वातिनी लगायतका सभामुखहरूसँग भेटवार्ता तथा छलफलसमेत गरेका थिए।
IPU, इटाली संसद र ‘रिलिजन्स फर पिस’ को संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा विश्वभरका सांसद, धार्मिक अगुवा, संयुक्त राष्ट्रसंघका प्रतिनिधि, नागरिक समाज र शिक्षाविद्हरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनले आस्था, राजनीति र संस्कृतिका विविध पक्षबीच संवाद र सहकार्यको अन्तर्राष्ट्रिय मञ्चका रूपमा सकारात्मक सन्देश दिएको छ।