एनआरएनए कोरियाको अध्यक्षमा भट्टराईको उम्मेदवारी घोषणा

तु खबर संवाददाता
२०८२ असार ७, शनिबार १५:४१

दक्षिण कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका वर्तमान उपाध्यक्ष हरिप्रसाद भट्टराईले आसन्न अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

कोरियामा बैंकिङ क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका  भट्टराईले दीर्घकालीन पेशागत अनुभव र संस्थागत नेतृत्व क्षमतालाई एकीकृत गर्दै एनआरएनएलाई एकजुट, समन्वित र गतिशील संगठन बनाउने अठोटसहित आफ्नो चुनावी यात्रा सुरु गरेको बताए ।

विद्यार्थी भिसामा कोरिया प्रवेश गरेका भट्टराईले स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । विद्यार्थी, श्रमिक तथा पेशाकर्मी समुदायको हकहितमा निरन्तर क्रियाशील रहँदै आएका उनले सामाजिक र संगठनात्मक क्षेत्रमा सशक्त उपस्थिति जनाउँदै आएका छन्।

तु खबरसंग कुराकानीको क्रममा उनले विगत केही समयदेखि दुई धारमा विभाजनको अवस्थामा रहेको एनआरएनएलाई सहमति र साझा नेतृत्वमार्फत एक बनाउने, श्रमिकको हित संरक्षण, सुरक्षित आप्रवासन नीति, रेमिट्यान्सको सदुपयोग, र प्रवासी लगानीलाई नेपालमा उत्पादनमुखी क्षेत्रमा प्रवाह गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

भौगोलिक हिसाबले पूर्वी नेपालको र सम्पूर्ण युवाको सशक्त साथ र समर्थन आफुलाई मिल्नेमा आफू ढुक्क रहेको उनले बताए । जुलाई महिनामा एनआरएनए दक्षिण कोरियाको १० औं अधिवेशन हुँदैछ ।