ग्वार्कोमा बनेको देशको पहिलो ओभरपासको आज उदघाटन

तु खबर संवाददाता
२०८२ असार ६, शुक्रबार ०९:०३

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा बनेको देशको पहिलो ओभरपासको आज उदघाटन गर्नेछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । तोकीएको समयमा निर्माण सम्पन्न नभएपछी पटक पटक म्याद थप गरिएको थियो।अन्तिम पटक २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो ।त्यसपछि पनि आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रलका प्रवक्ता प्रदीप भण्डारीले ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि अहिलेसम्मको झन्डै एक करोड ४७ लाख रुपैयाँ हर्जना तिराएर निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । यो सङ्गै ओभरपासको मुनिबाट मंगलबजार–इमाडोल जाने सवारीसाधन निर्वाध चल्न सक्ने गरी ओभरपास बनाइएको छ । यसबाट ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ ।