असारे विकासमा बालेनको रोक, भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न नपाइने

तु खबर संवाददाता
२०८२ असार ३, मंगलवार ११:३७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आर्थिक वर्षको अन्त्यमा अनावश्यक रुपमा सडक खनेर विकास गरेको भन्दै बजेट पचाउने कार्यको अन्त्य गराएका छन् । काठमाडौं महानगरपालिकाले असार १ देखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको हो ।

सार्वजनिक निर्माण विभागले स्वीकृति र सहमति दिने कार्य रोकिएको जानकारी दिएको छ । वर्षायाममा सडक र फुटपाथ खन्न रोक लगाउने परम्परा अनुसार यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचना अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको छ ।

वर्षायाममा सडक र फुटपाथ खन्दा सवारी र पैदलयात्रीलाई आउ–जाउ गर्न गाह्रो हुने भएकाले हरेक वर्ष त्यस्ता काम गर्न रोक लगाउने गरिन्छ ।