सेटिङमा लाइसेन्स पास गराउने कर्मचारी र बिचौलिया अख्तियारको फन्दामा

तु खबर संवाददाता
२०८२ जेष्ठ ३०, शुक्रबार २०:४९
file-photo

काठमाडौँ । सेटिङमा लाइसेन्स पास गराउने र कर्मचारी र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवन कार्यालय सहायक (पाँचौ) पदका इन्द्रजीत गुरुङ र बिचौलियाको काम गर्ने सुरज पाठकलाई नियन्त्रणमा लिएको हो ।

लाइसेन्स परीक्षा फेल भएकाहरुलाई १५ देखि २५ हजार रुपैयाँ रकम लिएर पास गराइरहेको उजुरी अख्तियारमा परेको थियो । सो उजुरी पछि अख्तियारको टोली चितवन पुगेको थियो ।

अनुसन्धानका क्रममा गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ बरामद गरिएको जनाइएको छ । यसका साथै कार्यालय प्रमुख र अन्य कर्मचारीको साथबाट ३१ थान मोबाइल, २ थान ल्यापटप र विभिन्न कागजपत्र नियन्त्रण लिएको छ ।