दुर्घटनाग्रस्त एयर इन्डियामा सवार यात्रुको परिचय खुल्यो,नेपाली नागरीक नभएको पुष्टी

तु खबर संवाददाता
२०८२ जेष्ठ २९, बिहीबार १६:४४

काठमाडौं ।बिहीबार अपराह्न भारतको अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उडेको एयर इन्डियाको बी७८७ विमान भीटी-एएनबी दुर्घटनामा परेको छ। फ्लाइट नम्बर एआई १७१ ले दिउँसो १ ३८ बजे उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको हो।

उडानपछि केहीबेरमै विमानले ‘मेडे’ (आपतकालीन) कल दिएको थियो । तर त्यसपछि एयर ट्राफिक कन्ट्रोलसँग कुनै सम्पर्क हुन सकेन । विमानमा कुल २ सय ४२ जना सवार थिए, जसमा २ जना पाइलट र १० जना केबिन क्रू सदस्य रहेका थिए । प्रारम्भिक जानकारीअनुसार, क्याप्टेनसँग ८ हजार २०० घण्टाको उडान अनुभव थियो भने सह–पाइलटसँग १ हजार १०० घण्टाको उडान अनुभव थियो ।

 

एअर इन्डियाका अनुसार विमानमा ५३ जना बेलायती नागरिक सवार थिए । यस्तै १६९ भारतीय नागरिक थिए । विमानमा १ जना क्यानडाका र सात जना पोर्चुगलका नागरिक थिए । अहिले उद्धार कार्य तीव्र गतिमा चलिरहेको छ । एम्बुलेन्सहरू चारैतिर पुगेका छन् । आपतकालीन उद्धार टोलीहरू अहिले पनि आगो निभाउने प्रयासमा व्यस्त छन् ।

विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो ।त्यस क्रममा भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् ।’ उनका अनुसार भारतीय अधिकारीहरुले विमानमा सवारहरुको सूची समेत पठाएका छन् ।