नो लाइटको निरीक्षण पछि मन्त्री खड्काले भने लोडसेडिङ हुँदैन

तु खबर संवाददाता
२०८२ जेष्ठ ११, आईतवार २१:१७

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आइतबार साँझ कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखामा स्थलगत निरीक्षण गर्दै उपभोक्ता गुनासो तथा वितरण व्यवस्था सम्बन्धी जानकारी लिएका छन् ।

नो–लाइट शाखा अन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि मन्त्री खड्काले पत्रकारहरूसँग कुरा गर्दै हाल देशमा उत्पादन भइरहेको विद्युतले माग पूरा गर्न पर्याप्त रहेको स्पष्ट पारे । लोडसेडिङ हुँदैन, हुन दिइदैन, उनले भने ।

केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेको भन्दै त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गरे ।

कतै असामान्य मौसम, हावा हुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको छ।  सबै कर्मचारी र निकाय जिम्मेवार भएर काम गरिरहेकोले पनि लोडसेडिङको समस्या नआउने मन्त्री खड्काको विश्वास छ ।

स्थलगत निरीक्षणकै क्रममा मन्त्री खड्काले स्युचाटारस्थित लोड डिस्प्याच सेन्टरको समेत आकस्मिक अवलोकन गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशन समेत दिएका छन् ।

निरीक्षण टोलीमा ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसहित अन्य प्राविधिक अधिकारीहरूको उपस्थिति रहेको थियो।

सरकारले लोडसेडिङको पुनरावृत्ति हुन नदिन प्रणाली सुदृढीकरण, आपूर्ति निरन्तरता र गुनासो व्यवस्थापनमा कडाइ गर्ने नीति अवलम्बन गरेको मन्त्री खड्काले स्पष्ट पारे ।