पाथीभरा केबलकार विवाद : जिल्ला प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा जारी

ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन नरोकिएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार, आज बिहान ५ बजेबाट लागू हुनेगरी फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले विज्ञप्ती मार्फत् जानकारी दिएको छ ।
नो केबलकार पक्ष र प्रहरीबीच बारम्बार झडप हुँदै आएको छ भने हिजो शनिबार आयोजित पदयात्राका क्रममा पनि प्रहरीसँग झडप भएको थियो ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शन र जुलुसका कारण स्थानीय स्तरमा प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो । चार किल्ला तोकेर निषेधाज्ञा जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८(संशोधनसहित)दफा (६) को उपदफा (३) क बमोजिम निषेधित क्षेत्रमा ५ जनाभन्दाबढी व्यक्ति भेला भई सभा, जुलुस, प्रर्दशन, घेराउजस्ता कार्यक्रम गर्न निषेध गर्ने गरी यो आदेश जारी गरिएको छ – विज्ञप्तीमा भनिएको छ ।