बेलुन विस्फोट घटना छानबिन गर्न समिति गठन

काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न समिति गठन गरिएको छ । गृहमन्त्री रमेश लेखकले उक्त घटनाबारे छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
गृहमन्त्री लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिटि गठन गरेका हुन् ।
उक्त समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव छन् ।
साथै समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ समेत हुने रहने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, समितिले बेलुन विस्फोट घटनाबारेको के कसरी भयो ? त्यसको विस्तृत छानबिन र आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्दा पूर्व सतर्कता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।
समितिलाई घटनाबारे प्रतिवेदन पेश गर्न आजबाट १५ दिनको समय दिइएको छ । शनिबार भएको सो घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घाइते भएका थिए । घाइते उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।