विश्वविद्यालयद्वारा थानकोट–चित्लाङ सडक बन्द नगर्न आग्रह

हेटौंडा । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले मकवानपुरलाई काठमाडौंसँग जोड्ने छोटो दुरीको मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) बन्द नगर्न आग्रह गरेको छ ।
सडक सुधार कार्यका लागि एक महिना लामो समय सडक बन्द गरिने भएपछि प्रविधि विश्वविद्यालयले आपत्ति जनाउँदै सडक बन्द फिर्ता लिन माग गरेको हो ।
थाहा नगरपालिका–९ स्थित चित्लाङमा रहेको सो विश्वविद्यालयले लामो समय सडक पूर्ण रूपमा बन्द हुँदा विद्यार्थी, कर्मचारी र प्राध्यापकलाई आवागमनमा समस्या हुने र विश्वविद्यालयमा अध्ययन÷अध्यापन सञ्चालन हुन नसक्ने भन्दै सडक बन्द नगर्न भनिएको हो ।
सडक डिभिजन कार्यालय काठमाडौंले एक सार्वजनिक सूचना जारी गर्दै थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरिभन्ज्याङ खण्ड यही पुस ७ गते आइतबारदेखि आगामी माघ ६ सम्म पूर्ण रूपमा आवागमन बन्द हुने जानकारी गराएको थियो ।
विश्वविद्यालयका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशीले सडक बन्द गर्ने योजनाबारे जानकारी प्राप्त भएपछि काठमाडौं सडक डिभिजन, थाहा नगरपालिकालगायतका निकायमा सडक बन्द भएमा विश्वविद्यालय सञ्चालन हुन नसक्ने जानकारी गराइएको भन्दै त्यसलाई गहन रूपमा नलिएको भन्दै आपत्ती जनाए । विश्वविद्यालयले काठमाडौं सडक डिभिजनलाई विश्वविद्यालय नियमित रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्था गर्न अनुरोध गरिएको उनले बताए ।