आज छठको दोस्रो दिन ‘खरना’

तु खबर संवाददाता
२०८१ कार्तिक २१, बुधबार ०९:२३

महोत्तरी । आज छठ पर्वको दोस्रो दिन । यसदिन बर्तालु ‘खरना’ विधिको तयारीमा छन् ।

पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मंगलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालुले आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।

यसदिन बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (ब्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खाने प्रचलन छ ।

श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।

दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्ने चलन छन् ।