‘पछिल्लो समय सामुदायिक विद्यालयको शिक्षामा पनि सुधार भएको छ’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले पछिल्लो समयमा सामुदायिक विद्यालयमा पनि शिक्षामा सुधार भएको बताएका छन् ।
शिक्षा विकास निर्देशनालय हेटौंडले शिक्षा दिवस २०८१ को अवसरमा बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् ।
प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी बढाएको भन्दै उनले सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन शिक्षक–शिक्षिका सँगसँगै अभिभावको पनि उत्तिकै भूमिका रहने उल्लेख गरे ।
उनले थपे, ‘सामुदायिक विद्यालय सुधारमा शिक्षक, अभिभावक, विद्यार्थी सबैको भूमिका उत्तिकै हुन्छ । अभिभावकले निजी विद्यालयमा जस्तै आफ्ना बालबच्चालाई विशेष ध्यान दिएर पढ्न पठाउने र स्याहार गरे भनि नतिजामा सुधार आउछ ।’
कार्यक्रममा बागमती प्रदेशभित्रका सर्वोत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सम्मानित गरिएको थियो । सामुदायिकतर्फ भक्तपुर नगरपालिको मेधा माध्यमिक विद्यालय, काठमाडौंको बलम्बु माध्यमिक विद्यालय, नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय, काठमाडौंको तरूण माध्यमिक विद्यालय र धर्म राष्ट्रिय माध्यमिक विद्यालयलाई सम्मान गरिएको हो ।
यसैगरी, संस्थागततर्फ हिज किड्स इन्टरनेसनल स्कुल, रिलायन्स इन्टरनेसनल एकेडेमी, गोकर्णेश्वर लाइट एकेडेमी, शाइरी स्कुल, माउन्ट ग्लोरी ईङ्गलिस बोर्डिङ हाइस्कुललाई सम्मान गरिएको थियो ।
यसैगरी, राष्टिय शिक्षा दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगिताका विजयीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।