भियतनाममा शक्तिशाली तुफानः ६० जनाको मृत्यु
काठमाडौँ । भियतनाममा शक्तिशाली तुफानका कारण ६० जनाले ज्यान गुमाएको त्यहाँका सञ्चार माध्ययमहरुले जनाएका छन् । उक्त तुफानलाई ‘यागी’ नाम दिएको छ । तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २४० भन्दा बढी मानिसहरु घाइते छन् । विद्यालयहरु बन्द गरिएको छ ।
तुफानले उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडकहरुअवरुद्ध छन् । घरहरु उजाडिएका छन् । विद्युत आपूर्ति बन्द हुँदा १५ लाख भन्दा बढी मानिस प्रभावित भएको जनाइएको छ ।
तटीय क्षेत्रबाट करिब ५० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ । तुफान शक्तिशाली र विनाशकारी भएकाले यसलाई ‘सुपर टाइफुन’ भनिएको छ । ‘सुपर टाइफुन’ शनिबार भियतनामको भूमिमा बज्रिएको हो ।
यागी तुफानलाई भियतनाममा तीन दशकपछिको शक्तिशाली भनिएको छ । तुफानको वेग २०३ किलोमिटर प्रतिघण्टाको थियो । यो यस वर्ष एसियामा देखापरेको सबैभन्दा शक्तिशाली तुफान हो ।