रास्वपाद्वारा हेटौंडा उपमहानगरपालिकाको कर वृद्धिको विरोध

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौंडा नगर समितिले हेटौंडा उपमहानगरपालिकाले गरेको कर वृद्धिको विरोध गरेको छ ।
हालै सम्पन्न नगर परिषद्को सभाले विभिन्न क्षेत्रमा १०० देखि ३०० प्रतिशतसम्म कर वृद्धि गरेकोप्रति रास्वपाले विरोध गरेको हो । रास्वपाले यस निर्णयको घोर भर्त्सना र निन्दा गरेको छ ।
पार्टीले वर्तमान आर्थिक मन्दीको अवस्थामा कर वृद्धि गर्नु अनुचित भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अहिले देश नै आर्थिक मन्दीको मारमा परेर व्यवसायहरू धरासायी हुँदै, घर भाडा र राज्यको न्यूनतम नवीकरण पनि तिर्न नसक्ने स्थिति भई दिनानुदिन व्यवसायहरू बन्द हुँदै र विदेशिने क्रम जारी रहेको परिस्थितिमा कर वृद्धि गर्नु उचित होइन ।’
रास्वपाले यस निर्णयमा सबै दलका जनप्रतिनिधिहरूको मिलेमतो रहेको आरोप लगाएको छ । पार्टीले उपमेयरको व्यवसायमा कर नबढाइएको भन्ने जनगुनासो रहेको पनि उल्लेख गरेको छ ।
रास्वपाले हेटौंडा उपमहानगरपालिकाले बढाएको सम्पूर्ण कर खारेज गरी पुरानै दररेट कायम गर्न जोडदार माग गरेको छ ।
विज्ञप्तिमा हेटौंडा उपमहानगर समितिका सभापति ध्रुव विष्ट, मकवानपुर निर्वाचन क्षेत्र नं १ का सभापति टाकाराज थापा र सोही निर्वाचन क्षेत्रका सचिव किशोर अर्यालले हस्ताक्षर गरेका छन् ।