सरकारले भलिबल खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने

काठमाडौं । सरकारले भलिबल खेलाडीहरुलाई जनही २ लाख रुपैयाँ बराबरको पुरस्कार दिने भएको छ ।
काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा सहभागी भएका नेपाली खेलाडीलाई सरकारले जनही २ लाख रुपैयाँ पुरस्कार दिन लागेको हो ।
राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगितामा द्वितीय भएका खेलाडीहरुलाई पुरस्कारका लागि सफारिस गरेको छ । समितिको यही साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।
यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
साउन १७ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स, भारत र इरानलाई पराजित गरेको थियो । फाइनलमा भने नेपाली टिम भारतसँग पराजित भएर दोस्रो स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्सका खेलाडीले सहभागिता जनाएका थिए ।