हेटौंडा–२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

तु खबर संवाददाता
२०८१ श्रावण १३, आईतवार ०९:५१

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उक्त वडा उपमहानगरकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो ।

शनिबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले २ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।

सो क्रममा मेयर लामाले आर्थिक अभावको कारण बालबालिका शिक्षाबाट बञ्चित हुने अवस्थाको अन्त्य गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन् । उनले हिंसामुक्त नगर स्थापना गर्न सबै एकजुट हुनुपर्ने भन्दै बालबालिकाहरुको चौतर्फी विकासको लागि अभिभावकहरुसंग सहकार्य गर्न पनि उपमहानगर तयार रहेको दृढता व्यक्त गरिन् ।

यसैगरी, कार्यक्रममा बोल्दै २ नम्वर वडाका वडाध्यक्ष एवम् बालमैत्री शासन मूल समारोह समितिका संयोजक विष्णु गोपाल महर्जनले आवश्यक ५१ वटा सुुचकमध्ये ४६ वटा सुचकहरु शत प्रतिशत, ३ वटा सुचक ९६ प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत र १ वटा सुचक ९० प्रतिशतसम्म पूरा गरेको बताए ।

अध्यक्ष महर्जनले बालबालिकाको बृद्धि विकासका विषयहरुलाई वडाले आफ्नो योजनामा निरन्तर समावेश गर्दे आइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य तारा ढुङ्गाना, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।

बालमैत्री वडा घोषणा कार्यक्रमअघि र्यालीको समेत आयोजना गरिएको थियो । र्यालीमा वडा भित्र रहेको विभिन्न सामुदायिक एवम् संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।