थानकोट–चित्लाङ सडक साउन २० गतेसम्म बन्द

तु खबर संवाददाता
२०८१ श्रावण १, मंगलवार १५:२६

मकवानपुर । हेटौंडा– काठमाडौँ जोड्ने थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) साउन २० गतेसम्म बन्द हुने भएको छ ।

थानकोट–चित्लाङ सडकको स्तरोन्नतिका क्रमका सेतो पहरो सडक खण्डमा उच्च ग्रेड कम गर्न र सडकको चौडाइ कम भएको भागमा ब्याक कटिङ र ग्रेड डाउन गर्ने क्रममा सम्भावित दुर्घटना हुन नदिन सवारी साधनको आवागमन बन्द गरिने भएको हो ।

सडक डिभिजन काठमाडौंले सेतो पहरो खण्डमा उच्च ग्रेड कम गर्ने र सडकको चौडाइ बढाउन काम भइरहेकोले सम्भावित दुर्घटना हुन नदिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रुपमा सडक बन्द गरी निर्माण कार्य भइरहेको जनाएको छ ।

निर्माणस्थलमा रहेको कडा चट्टानका कारण ब्याक कटिङ कार्यमा कठिनाई भई ब्याक कटिङ कार्य सम्पन्न गर्न अनुमान गरिएभन्दा बढी समय लाग्न गएको र मौसमसमेत अनुकूल नरहेकोले आगामी साउन २० गतेसम्मको निर्माण कार्य अवधिभर वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

उक्त सडक खण्डमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रुपमा बन्द गरेर निर्माण एवं मर्मत सुधार कार्य गरिनेभएकोले कार्यालयले स्थानीय तहलाई सहजीकरण गरिदिन अनुरोध गरेको छ ।