यस वर्षको एसईई परीक्षा आगामी चैत ७ गतेदेखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्र ७ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो ।
बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र सार्वजनिक हुने जनाइएको छ ।
कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण २०८१ कात्तिक १ गतेदेखि कात्तिक मसान्तसम्म गरिने सार्वजनिक गरिएको वार्षिक कार्य योजनामा उल्लेख छ ।
यसैगरी, कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गतेदेखि पौष ७ गतेसम्म हुनेछ ।