मनहरीमा एकैदिन ३ वटा पक्की पुल उद्घाटन

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट करिब १९ करोड रुपैयाँ खर्चिएर निर्माण गरेको ३ वटा पक्की पुल शनिबार उद्घाटन गरिएको छ ।
बागमती प्रदेशसभा सदस्य इन्द्र बहादुर बानियाँले पुलको उद्घाटन गरेका हुन् ।
मनहरीको ३ र ४ नम्बर वडा जोड्ने लामिटार र ट्वाङ्ग्राको डबल स्पान पुल, ३ र ४ नम्बर वडाकै गोलघर र मिलडाँडा जोड्ने पुल र १ र २ नम्बर वडाको पार्ता र च्यापल जोड्ने ट्रिपल स्पानको पुलको नेपाली कांग्रेस बागमती प्रदेश सभापतीसमेत रहेका बानियाँले उद्घाटन गरेका हुन् ।
लामिटार र ट्वाङ्ग्रा जोड्ने ६४.१५ मिटर लम्बाइको पुल ६ करोड ४९ लाख ६० हजार रुपैयाँ, गोलघर र मिलडाँडा जोड्ने ७४.५५ मिटर लम्बाइको पुल ६ करोड ५९ लाख ५० हजार ६३ रुपैयाँ तथा १ र २ नम्बर वडाको पार्ता र च्यापल जोड्ने ९७ मिटर लामो पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँ लागतमा निर्माण भएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।
हिराचन बानिँया जेभी निर्माण कम्पनीले गाउँपालिकामा निर्माण गरिरहेको पाँच वटा पक्की पुल मध्ये तीन वटा पुलको निर्माण सम्पन्न भएकोले उद्घाटन गरिएको हो । सबै पुलको चौडाई ७ मिटर रहेको बताइएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष ०७७÷७८ मा आन्तरिक श्रोतको ३३ करोड ४० लाख ६५ हजार लागतमा ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । गाउँपालिकाको वडा नं १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडिखोला, ट्वाङ्ग्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का मार्फत् निर्माण थालिएको थियो ।
यसैगरी हाँडिखोला र ठाडो खोलामा निर्माणाधिन दुईवटा पुल २०८१ मंसिर महिनासम्म सम्पन्न भइसक्ने अध्यक्षले कालाखेतीले बताए । उनका अनुसार हालसम्म ठाडोखोला पुलको ८५ प्रतिशत र हाँडिखोला पुलको ६३ प्रतिशत निर्माणको काम भएको छ ।