कोदालो प्रहारबाट तीन जना गम्भीर घाइते

तु खबर संवाददाता
२०८० चैत्र ८, बिहीबार १७:२०

बैतडी । बैतडीमा कोदालो प्रहारबाट बिहीबार तीन जना गम्भीर घाइते भएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गर्दा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन् । धामीले कोदालो प्रहार गर्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामी, दशरथचन्द नगरपालिका–९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभास कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट घाइते भएको बैतडी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, धामीले आफ्नो घरमै श्रीमती पार्वतीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए । त्यस लगत्तै उनकै घरमा डेरा गरी बस्दै आएका कलौनी र भट्टमाथि पनि उनले कोदालो प्रहार गरेका थिए ।

घाइते तीनै जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कोदालो प्रहार गर्ने उनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।