दुर्घटनामा परेर दुई युवकको मृत्यु

तु खबर संवाददाता
२०८० फाल्गुन १५,मंगलवार १०:३०
file photo

रौतहट । पूर्व–पश्चिम हुलाकी सडक अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका वडा ३ मा गएराति स्कारपियो र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका वडा ६, का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतो रहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुबै जनालाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै स्कारपियो चालक फरार रहेका छन् । प्रहरीले स्कारपियोलाई नियन्त्रणमा लिई फरार चालकको खोजीकार्य गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।