पाल्पामा यात्रुबहाक जिप दुर्घटना हुँदा १० जनाको मृत्यु

बुटवल । पाल्पामा मंगलबार साँझ यात्रुबहाक जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । डुम्रेबाट तिनाउ गाउँपालिका वडा–६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा परेर ८ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृतयु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर तिनाउ –६ मस्यामकी ६० वर्षीय यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीय चुना रणपाल, रिव्दीकोट १ ख्याहाकी ६५ वर्षीय दिल कुमारी सुनार र देवदह नगरपालिका – ५ की २९ वर्षीय दिलमाया जिसीको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, तिनाउ–२ खुर्सानेका २० वर्षीय गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीय विष्णुकला कामीको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरुको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही दुर्घटनामा परेर अन्य १७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा पाल्पा तिनाउ ६ की २० वर्षीय कृष्णा पन्त, सोही ठाउँकै १९ वर्षीय उमा रास्कोटी, २१ वर्षीय अमृता गहतराज, १९ वर्षीय शान्ति राना, ९ वर्षीय शौरव पुन, ४५ वर्षीय तुल बहादुर नेपाली, २८ वर्षीय कमला सुनार, रुपन्देही खैरेनी–५ का ९ वर्षीय विवेक जिसी, सोही ठाउँकै ६ वर्षीय अस्मित जिसी, तानसेन ७ की ४२ वर्षीय सविता परियार, रिव्दिकोट १ की ३० वर्षीय रमा सुनार, सोही ठाउँकै ६ वर्षीय विद्या सुनार, ६ वर्षीय साया सुनार, ५ वर्षीय आलब सुनार, तानसेन १० का ४५ वर्षीय जिप चालक दान बहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीय भुमी पुन र १ जना ३६ दिनकी बालिका रहेका छन् । उनीहरुको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।
चिदिस शिखरडाँडा जाँदै गरेको जिप उकालोमा ब्याक भई सडकबाट करिब ३ मिटर तल अर्को सडकमा खसेको थियो ।
जिप ओभरलोडको कारण दुर्घटना भएको र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।