बालकुमारी घटनामा मारिएका २ युवकका परिवारलाई १०/१० लाख राहत दिइने

तु खबर संवाददाता
२०८० पुष १४, शनिबार १८:१२

काठमाडौँ । शुक्रबार बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराइने भएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले बालकुमारी घटनामा मारिएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराइने भएको छ ।

पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद बैठकले घटनामा घाइते हुनेहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।