दुर्घटनामा परेर तीन युवकको मृत्यु, एक सख्त घाइते
जनकपुरधाम । सिराहाको हुलाकी राजमार्ग अन्तरगत पर्ने सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा सवारी दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ ।
बुधबार साँझ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
दुर्घटनामा परेर सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरु गम्भीर घाइते भएका थिए ।
घाइते उनीहरुलाई उपचारको लागि उद्दार गरी प्रादेशिक अस्पताल सिराहामा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको सिराहा प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परेर मोटरसाइकलमै सवार स्थानीय १५ वर्षीय युवराजकुमार यादव सख्त घाइते भएका छन् । उनलाई सो अस्पतालमा उपचारपश्चात थप उपचारका लागि राति नै विराटनगर रिफर गरिएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



