२० घर मुसहरले पाए नयाँ घर

मकवानपुर । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर–६ नगौलका अतिविपन्न मुसहर समूदायलाई एकीकृत बस्ती हस्तान्तरण गरिएको छ ।
प्रभू शमसेर जबरा तथा राजी राणा परोपकार निजी जुठीद्वारा नगौलमा निर्मित सो बस्ती शुक्रबार सम्बन्धित परिवारलाई हस्तान्रण गरिएको हो ।
एकीकृत बस्ती निर्माण भएपछि २० घर परिवारले आश्रय पाएका छन् । यसअघि मुसहर समूदाय ऐलानी जग्गामा कष्टपूर्ण जीवन बिताउँदै आएका थिए ।
कूल ७ कठ्ठा १२ धुर क्षेत्रफलमा ३ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण गरिएको २० वटा तीन कोठे पक्की घर शुक्रबार गुठीकी अध्यक्ष राणाले वडा कार्यालयको रेखदेख तथा संरक्षणमा रहनेगरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरेकी हुन् ।
एकैनासले लहरै इँटा जडान गरी बनाइएको पक्की घरमा ढलानकै छानो छ । एक समान र उही आकारका घरले बस्ती निकै व्यवस्थित देखिएको छ । ढलानकै सिकुवा, सफा आँगन, व्यवस्थित सौचालय र बालबालिका खेल्न मिल्ने फराकिलो ठाउँको व्यवस्थापन मिलाइएको छ ।
एक परिवारका लागि दुई वटा सुत्ने कोठा, एक भान्सा घर र शौचालयसहितको व्यवस्थित घर हस्तान्तरण गरिएको हो । । गुठीले एकीकृत बस्तीको मध्ये भागमा बाटो, र प्रत्येक घरको आँगनमा खानेपानीको लागि ट्युबेल जडान गरिदिएको छ । साथै नयाँ घरमा व्यवस्थापन मिलाउनका लागि गुठीले प्रत्येक मुसहर परिवारलाई नगद १० हजार रुपैयाँसमेत प्रदान गरेको छ ।